![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५३)
- गत साताको पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका केही केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेशका धेरै केन्द्रहरूमा र गण्डकी प्रदेश केही केन्द्रहरूमा १०.० मिलिमिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। सबैभन्दा बढी ताप्लेजुङ जिल्लामा रहेको ताप्लेजुङ केन्द्रमा ३५.० मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता वर्षाका कारण देशका अधिकांश केन्द्रहरुमा सरदरभन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने धेरै केन्द्रहरुमा सरदरभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
- हिमाली भू-भागः साताको शुरू र मध्यमा कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना सहित हल्कादेखि मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको अन्त्यमा ती सबै प्रदेशहरूका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताको शुरू र मध्यमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना सहित हल्का देखि मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा ती सबै प्रदेशहरूका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना हल्का वर्षाको सम्भावना छ।
- तराई भू-भागः साताको शुरूमा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना सहित हल्का वर्षाको पनि सम्भावना छ ।
- सबै भू-भागमा अधिकतम र न्यूनतम तापक्रम दुबै बढ्ने सम्भावना छ।
कृषि सारांश
- यस साता वर्षाको संभावना न्यून रहेको साथै अधिकांश भू-भागमा अधिकतम र न्यूनतम तापक्रम दुबै बढ्ने सम्भावना रहेकोले धान, मकै, फलफूल एवं तरकारी बालीहरूमा आवश्यकता अनुसार सिँचाइ गर्नुहोस्।
- बाली भित्र्याइसकेपछि खेतबारीमा बाँकी रहेका छ्वाली, परालजस्ता बाली अवशेष नजलाउनुहोस्।
- चैते धानमा झारपात आउन नदिन ब्युटाक्लोर (Butachlor 5%G) १.० केजी प्रतिरोपनी वा ०.६ केजी प्रतिकट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ५० एमएल को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एमएल को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
- मध्यपहाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू; मनकामना-१, मनकामना-३, मनकामना-४, मनकामना-५, मनकामना-६, पोषिलो मकै-१, खुमल पहेंलो, सितला, देउती, खुमल हाइब्रिड-२ (वर्णशंकर मकै) आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण-३, अरुण-४, अरुण-६ र उच्च पहाडी क्षेत्रका लागि गणेश-१, गणेश-२ मध्ये उपलब्ध जातहरू १-१.५ केजी प्रतिरोपनीका दरले छर्नुहोस्।
- मुंग लगाउनु हुने कृषकहरूले कल्याण, प्रतिक्षा र प्रतिज्ञामध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ केजी बीउ प्रतिकट्ठाका दरले छर्नुहोस्।
- पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पात खन्ने कीरा (लिफ माईनर) बाट हुने क्षति कम गर्न पुरानो पातहरु हटाउनुहोस्।
- प्याज लगाएको करिब १२०-१३० दिन भएको वा प्याजको नेक फल हुन थालेको अवस्था भएमा प्याज बालीलाई करिब २०-३० दिनसम्म जमीनमा सुताइदिनुहोस्।
- भिँडीमा फल तथा डाँठमा लाग्ने गवारोको नोक्सानी देखिएमा गवारो लागेको मुना र फलहरु जम्मा गरी नष्ट गर्नुहोस्, साथै कीराको अचल अवस्था (Pupa) हरू बिरुवाको बाहिरी भागहरूमा हुनेहुँदा जम्मा गरी नष्ट गर्नुहोस्। नोक्सानी बढी भएमा क्लोरनट्रानीलीप्रोल 18.5% एससी वा स्पिनोसाड 45% एससी १ एमएल ३ लिटर पानीमा मिसाएर छर्कनुहोस्। एउटै बिषादी निरन्तर प्रयोग नगरेर आलोपालो गरी प्रयोग गर्नुहोस्।
- लहरे बालीमा लाग्ने शीते ढुसी रोग व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाइ मेन्कोजेव वा मेटाल्याक्जिलयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरी हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
- मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा कुखुरा, सुंगुर, बंगुर जस्ता बथानमा पालिने पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
- हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- तापक्रम बढ्दै जाँदा ट्राउट माछाका भुराको आहारा आवश्यकतामा वृद्धि हुने भएकाले ४५% भन्दा बढी प्रोटिनयुक्त तैरिने दाना प्रयोग गर्नु उपयुक्त हुन्छ। यस्तो दाना भुरालाई एकैचोटि धेरै नदिई दिनभरि ५-६ पटक थोरै-थोरै मात्रामा खुवाउनुहोस्।
- माछाका भुरा ढुवानी गर्दा पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान वा साँझपखको समय पारेर माछाका भुरा ढुवानी गर्नुहोस्।
- बीउ उत्पादनको लागि लगाइएको जै घाँसमा पहेंलो सिन्दुरे रोग देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा २-३ पटकसम्म पातहरू भिज्नेगरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। साथै, हरियो घाँसको लागि लगाइएको हो भने विषादी छर्किएको कम्तीमा ३० दिनसम्म पशुचौपायालाई नखुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

