![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५२)
- गत साता पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागका एक-दुई केन्द्रहरूमा र सुदूरपश्चिम प्रदेशका थोरै केन्द्रहरूमा ५०.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। गत साता वर्षाका कारण देशका धेरै केन्द्रहरूमा सरदरभन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने केही केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ। साथै साताको सुरूमा पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहने देखिन्छ।
- हिमाली भू-भागः साताको सुरूमा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना सहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा ती सबै प्रदेशहरूका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताको सुरूमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा ती सबै प्रदेशहरूका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना हल्का वर्षाको सम्भावना छ।
- तराई भू-भागः साताको सुरू र मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ। साताको सुरूमा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना सहित हल्का वर्षाको पनि सम्भावना छ।
- सबै भू-भागमा अधिकतम र न्यूनतम तापक्रम दुवै बढ्ने सम्भावना छ।
कृषि सारांश
- बाली भित्र्याइसकेपछि खेतबारीमा बाँकी रहेका छ्वाली, परालजस्ता बाली अवशेष नजलाउनुहोस्।
- चैते धानमा झारपात आउन नदिन ब्युटाक्लोर (Butachlor 5%G) १.० केजी प्रतिरोपनी वा ०.६ केजी प्रतिकट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ५० एमएल को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एमएल को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
- मध्यपहाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू; मनकामना-१, मनकामना-३, मनकामना-४, मनकामना-५, मनकामना-६, पोषिलो मकै-१, खुमल पहेंलो, सितला, देउती, खुमल हाइब्रिड-२ (वर्णशंकर मकै) आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण-३, अरुण-४, अरुण-६ र उच्च पहाडी क्षेत्रका लागि गणेश-१, गणेश-२ मध्ये उपलब्ध जातहरू १-१.५ केजी प्रतिरोपनीका दरले छर्नुहोस्।
- मुंग लगाउनु हुने कृषकहरूले कल्याण, प्रतिक्षा र प्रतिज्ञामध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ केजी बीउ प्रतिकट्ठाका दरले छर्नुहोस्।
- पुतली कीराको कारणले अनारमा फल झर्ने र कुहिने समस्या हुने भएकोले चिचिला लाग्दादेखि फल तयार हुने बेलासम्म नीमजन्य विषादी ५ एमएल प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा ४ पटकसम्म पानी नपरेको समयमा छर्कनुहोस्।
- पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
- लहरे बालीमा लाग्ने शीते ढुसी रोग व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाइ मेन्कोजेव वा मेटाल्याक्जिलयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरी हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
- मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा कुखुरा, सुंगुर, बंगुर जस्ता बथानमा पालिने पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
- हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- पानीको तापक्रम बढ्दो क्रममा रहेकोले माछापोखरीमा प्राकृतिक आहारा र अक्सिजनको आपूर्ति बढाउन सिफारिस मात्रा अनुसार मलको व्यवस्थापन गर्नुहोस्।
- माछाका भुरा ढुवानी गर्दा पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान वा साँझपखको समय पारेर माछाका भुरा ढुवानी गर्नुहोस्।
- बीउ उत्पादनको लागि लगाइएको जै घाँसमा पहेंलो सिन्दुरे रोग देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा २-३ पटकसम्म पातहरू भिज्नेगरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। साथै, हरियो घाँसको लागि लगाइएको हो भने विषादी छर्किएको कम्तीमा ३० दिनसम्म पशुचौपायालाई नखुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

