![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५१)
- गत साताको सुरूमा र साताको मध्यमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भू-भागका एक-दुई केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। सबैभन्दा बढी दोलखा जिल्लामा रहेको चरिकोट केन्द्रमा 1०६.0 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता वर्षाका कारण देशका केही केन्द्रहरूमा सरदरभन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ।
- साताको सुरू र मध्यमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहने देखिन्छ। साताको अन्त्यमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहने देखिन्छ।
- हिमाली भू-भागः साताको सुरू र मध्यमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा साताको अन्त्यमा धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको अन्त्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना छ।
- पहाडी भू-भागः साताको सुरू र मध्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका एक-दुई स्थानमा तथा अन्त्यमा केही स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्त्यमा धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः साताको मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा तथा साताको अन्त्यमा सबै प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित हल्कारमध्यम वर्षाको सम्भावना छ।
- साताको सुरू र मध्यमा मध्याह्नपछि हावाहुरीको पनि सम्भावना छ। विशेषगरी तराई क्षेत्रमा अझ बढी सम्भावना छ।
- साताको सुरू र मध्यमा सबै भू-भागमा अधिकतम र न्यूनतम तापक्रम दुवै हल्का बढ्ने तथा अन्त्यमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम भने हल्का बढ्ने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसतभन्दा हल्का बढी रहने सम्भावना छ।
कृषि सारांश
- साताको मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा तथा साताको अन्त्यमा सबै प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरी गहुँलाई खेतमा नछोडी भित्र्याउनुहोस्। काटिएको गहुँलाई बाँधेर एकै ठाउँमा नभिज्नेगरी राख्नुहोस्। छिटो गरी गहुँ भित्र्याउनको लागि उपलब्ध मेसिनहरू (कम्बाइन हार्भेस्टर, रिपर, थ्रेसर) प्रयोग गर्नुहोस्।
- बाली भित्र्याइसकेपछि खेतबारीमा बाँकी रहेका छ्वाली, परालजस्ता बाली अवशेष नजलाउनुहोस्।
- चैते धानमा झारपात आउन नदिन ब्युटाक्लोर (Butachlor 5%G) १.० केजी प्रति रोपनी वा ०.६ केजी प्रतिकट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ५० एमएल को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एमएल को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
- मध्यपहाडी क्षेत्रका गहुँबालीमा लागेको पहेंलो सिन्दुरे रोग तीव्र रूपमा फैलिन सक्ने तथा तापक्रम बढ्दै जाँदा खैरो र कालो सिन्दुरे रोगको समेत जोखिम बढ्न सक्छ। यी रोगहरू देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा २-३ पटकसम्म पातहरू भिज्नेगरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्।
- मध्यपहाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू; मनकामना-१, मनकामना-३, मनकामना-४, मनकामना-५, मनकामना-६, पोषिलो मकै-१, खुमल पहेंलो, सितला, देउती, खुमल हाइब्रिड-२ (बर्णशंकर मकै) आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण-३, अरुण-४, अरुण-६ र उच्च पहाडी क्षेत्रका लागि गणेश-१, गणेश-२ मध्ये उपलब्ध जातहरू १-१.५ केजी प्रतिरोपनीका दरले छर्नुहोस्।
- मुंग लगाउनु हुने कृषकहरूले कल्याण, प्रतिक्षा र प्रतिज्ञामध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रतिकट्ठाका दरले छर्नुहोस्।
- लिची बगैंचामा सुलसुले (Mite) को नियमित अनुगमन गर्नुहोस्। नोक्सानी कम गर्नको लागि स्पाइरोमेसिफेन २२.९ एस सी, १ एमएल प्रतिलिटर पानीको दरले वा डाइमेथोएट १.५ एमएल प्रतिलिटर पानीको दरले ७-१० दिनको फरकमा २-३ पटक पानी नपरेको समयमा छर्कनुहोस्।
- पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
- हालको मौसम प्याजमा लाग्ने शीते ढुसीको लागि अनुकूल रहेकोले रोग फैलिन नदिन फोहोरा (Sprinkler) सिँचाइ नगर्नुहोस्।
- मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा कुखुरा, सुंगुर, बंगुर जस्ता बथानमा पालिने पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
- हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- माछाका भुरा ढुवानी गर्दा पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान वा साँझपखको समय पारेर माछाका भुरा ढुवानी गर्नुहोस्।
- बीउ उत्पादनको लागि लगाइएको जै घाँसमा पहेंलो सिन्दुरे रोग देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा २-३ पटकसम्म पातहरू भिज्नेगरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्। साथै, हरियो घाँसको लागि लगाइएको हो भने विषादी छर्किएको कम्तीमा ३० दिनसम्म पशुचौपायालाई नखुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

