कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५०)

मौसमी सारांश:

  • गत साता पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशका सबै केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही केन्द्रहरूमा तथा मधेश प्रदेशका एक-दुई केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। सबैभन्दा बढी संखुवासभा जिल्लामा रहेको नुम केन्द्रमा ०६.८ मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता वर्षाका कारण देशका अधिकांश केन्द्रहरूमा सरदरभन्दा कम अधिकतम तापक्रम मापन भएको छ भने केही केन्द्रहरूमा सरदर भन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको सुरुमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहने देखिन्छ। मध्य र अन्त्यमा पश्चिमी वायुको साथै स्थानय वायुको आंशिक प्रभाव रहने देखिन्छ।
  • हिमाली भू-भागः साताको सुरुमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका धेरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, तथा मध्यमा सबै प्रदेशहरूको थोरै स्थानहरूमा, अन्त्यमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी हिमपात/वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः साताको सुरुमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका धेरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साताको मध्यमा सबै प्रदेशहरूको थोरै स्थानहरूमा तथा साताको अन्त्यमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • तराई भू-भागः साताको सुरुमा कोशी प्रदेशको धेरै स्थानहरूमा र बाँकी प्रदेशको केही स्थानहरूमा तथा मध्यमा कोशी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित हल्का/मध्यम वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
  • साताको सुरुमा सबै भू-भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम हल्का बढ्ने तथा मध्य र अन्त्यमा अधिकतम र न्यूनतम तापक्रम दुवै हल्का बढ्ने सम्भावना छ। 
  • औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना छ।

कृषि सारांश

  • प्रि-मनसुनको समयमा मध्याह्नपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनुहोस्
  • साताभरि नै हावाहुरी र वर्षाको सम्भावना रहेको साथै साताको सुरुमा विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले विभिन्न बालीनालीमा पानी जम्न नदिन निकासको उचित व्यवस्था गर्नुहोस्।
  • साताभरि नै हावाहुरी र वर्षाको सम्भावना रहेको साथै साताको सुरुमा विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पाकेको गहुँ, जौ, मसुरो बालीलाई कटानी गरी खेतमा नछोडी भित्र्याउनुहोस्।
  • बाली भित्र्याइसकेपछि खेतबारीमा बाँकी रहेका छ्वाली, परालजस्ता बाली अवशेष नजलाउनुहोस्।
  • चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषद्बाट अद्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
  • जुम्ला लगायत उच्च पहाडी क्षेत्रमा बर्खे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-, लेकाली धान-, चन्दननाथ-र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.के.जी. प्रति रोपनीका दरले बीउ व्यवस्था गर्नुहोस्।
  • मध्यपहाडी क्षेत्रका गहुँबालीमा लागेको पहेंलो सिन्दुरे रोग तीव्र रूपमा फैलिन सक्ने तथा तापक्रम बढ्दै जाँदा खैरो कालो सिन्दुरे रोगको समेत जोखिम बढ्न सक्छ। यी रोगहरू देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा २-३ पटकसम्म पातहरू भिज्नेगरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्।
  • मध्यपहाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू; मनकामना-१, मनकामना-३, मनकामना-४, मनकामना-५, मनकामना-६, पोषिलो मकै-१, खुमल पहेंलो, सितला, देउती, खुमल हाइब्रिड-२ (बर्णशंकर मकै) आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण-३, अरुण-४, अरुण-६ र उच्च पहाडी क्षेत्रका लागि गणेश-१, गणेश-२ मध्ये उपलब्ध जातहरू १-१.५ के.जी. प्रतिरोपनीका दरले छर्नुहोस्।
  • मुंग लगाउनु हुने कृषकहरूले कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-.के.जी. बीउ प्रतिकट्ठाका दरले छर्नुहोस्।
  • आँपको बगैंचामा मधुवा कीरा (Mango hopper) लाग्ने समय भएकोले कीराको व्यवस्थापनको लागि बगैचाको सरसफाईमा बिशेष ध्यान दिनुहोस् साथै केराउ गेडे आकारको फल भएपछि मात्र इमिडाक्लोप्रिड १७.८ एसएल, १ एमएल ३ लिटर पानीमा मिसाई हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्।
  • पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
  • साताभरि नै हावाहुरी र वर्षाको सम्भावना रहेको साथै साताको सुरुमा विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मध्यपहाडी क्षेत्रमा लगाइएको आलु लगायत अन्य तरकारी बालीहरूमा पानी निकासको ब्यवस्था गर्नुहोस्।  
  • हालको मौसम प्याजमा लाग्ने शीते ढुसीको लागि अनुकूल रहेकोले रोग फैलिन नदिन फोहोरा (Sprinkler) सिँचाइ नगर्नुहोस्।
  • आगामी साताको सुरुमा केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्ने सम्भावना रहेकाले ती स्थानहरूमा पशुचौपायको खोर, गोठका छानाहरू बलियो गरी बाँध्नुहोस्। टिनको छाना भएका खोर/गोठहरूमा हावाले उडाउन नसक्ने गरी पाता राम्रोसँग ठोकिएको छ, छैन एकिन गर्नुहोस्। हावाहुरीले उडाई ल्याउन सक्ने टुक्रा-टाक्रीहरूबाट हुने दुर्घटना र भौतिक क्षतिबाट आफू पनि बच्नुहोस् र पशुचौपायालाई पनि बचाउनुहोस्।
  • मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा कुखुरा, सुंगुर, बंगुर जस्ता बथानमा पालिने पशुचौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
  • हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरूमा कमन कार्प जातको माछाको प्रजननको लागि काकाबनको तयारी गर्नुहोस्।
  • तराईका जिल्लाहरूमा कमन कार्प जातका माछाका ह्याचलिङ तथा साना भुरा बिक्री वितरण सुरु सकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरूले नजिकैको सरकारी/नीजि ह्याचरीहरूमा सम्पर्क गर्नुहोस्।
  • मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।