![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ७)
मौसमी सारांश
- गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा १९५.७ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा, लुम्बिनी प्रदेशका केही तराईका स्थानहरुमा र गण्डकी प्रदेशका एक-दुई तराईका स्थानहरुमा ३५.० डि.से भन्दा बढी तथा अन्य तराईका अधिकांश स्थानहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूर-पश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको टिकापुर केन्द्रमा सबैभन्दा बढी ३६.८ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ७.० डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यस साता देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावको साथै देशका पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताको शुरु र मध्यमा बङ्गालको खाडी र अरब सागरबाट भित्रिने जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरु र मध्यमा कोशी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्यम वर्षा/हिमपातको सम्भावना छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साताको अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्यम वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः साताको शुरु र मध्यमा कोशी प्रदेशको केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागमा साताभर थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको शुरुमा कोशी प्रदेशको थोरै स्थानहरुमा तथा शुरू र मध्यमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः देशका तराइ भू-भागमा साताको शुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भू-भागमा साताको शुरुमा र मध्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ।
- यो साता देशको पहाडी तथा तराईको भू-भागमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
मनसुन सिजन २०८२ (१८ जेठ – १४ असोज २०८२) को हावापानी आँकलन
- जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम समेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको छ।
मनसुन आगमन (Monsoon Onset)
यस वर्षको मनसुन मिति २०८२/०२/१५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ । नेपालका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ।
कृषि सारांश
- आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर वा सरदर भन्दा बढी वर्षा हुने संभावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि कर्महरु गर्दा पुर्व तयारी कार्यलाई विशेष ध्यान दिनुहोस्। साथै सुख्खा र डुबान दुवै सहन सक्ने धानका सिफारिश गरिएका जातहरु आवश्यकता अनुसार लगाउनुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
- यस साताको शुरू र मध्यमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले मकैबाली, तरकारी तथा फलफूल बगैंचामा पानी निकासको उचित प्रबन्ध गर्नुहोस्।
- सुन्तलाजात तथा वर्षे फलफुल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
- फलफूल बालीका नर्सरीहरुमा कलमी गरेको भाग भन्दा तलबाट आएका चोर हाँगाहरु अनिवार्य रुपमा हटाउनुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- उच्च पहाडमा लगाएको आलुबालीमा गोडमेल गरि उकेरा दिनुहोस्। बीउको लागि लगाएको आलुबालीमा रागिंग (बेजातका, भाइरस लगेका, कमजोर र खिरिला बोटहरु उखेल्ने)गर्नुहोस्।
- लहरे बालीमा लाग्ने धुले ढुसी रोग ब्यबस्थापनको लागि रोगी विरुवाको ठुटाहरु र झरेका पात जम्मा गरेर नष्ट गरि सल्फरयुक्त विषादी क्याराथेन वा थायोफेनेट मिथायल १.५ एम.जी. प्रति लिटर पानीमा मिसाई पुरै बोट भिज्नेगरि ७-१० दिनको अन्तरमा २-३ पटक आवश्यकता अनुसार छर्कनुहोस्।
- खनेको प्याजको बोटलाई २-३ दिन छाँयामा फिँजाएर मात्र टुप्पा काटी गाना अलग गर्नुहोस्। रोग लागेर बिग्रेको गानालाई हटाई केहि दिन सुकाएर प्याजको साईज अनुसार छुट्याएर भण्डारण गर्नुहोस्। साधारण अवस्थामा प्याजलाई खुला हावा लाग्ने बाँसको वा अन्य -याकमा भण्डारण गर्नुहोस्।
- हाल देशका विभिन्न स्थानमा गाई भैसीँमा Lumpy Skin Disease र सुङ्गुर बङ्गुरमा African Swine Fever देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाई उपलब्ध खोपहरु लगाउनुहोस्।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्।
- यस साताको शुरू र मध्यमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले माछापोखरीको प्रवेश द्वार र निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

